राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने जानकारी दिइन् ।
मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताइन् ।
नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन् ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको चुनावपछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी दिइन् ।
राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको जानकारी दिइन् ।
प्रवक्ता शर्माले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल जान नसकेको पनि बताइन् ।
