म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथमाथि सहज जित निकालेको छ । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी घटाएको छ । सिटीले बर्नमाउथलाई ४–१ ले पराजित गर्दै आर्सनलसँगको अंक दुरी २ मा झारेको हो ।
शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरेका थिए । एक गोल उपहार पाएको थियो । बर्नमाउथका लागि जेफर्सन लेर्माले एक गोल गरेका थिए ।
खेलको १५औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दिलाएका थिए । सिटीका लागि २९ औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा ३–० को अग्रता बनायो ।
५१ औं मिनेटमा क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी ४–० ले अगाडि रह्यो । ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।
जितले सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । अर्को खेलमा लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा छ ।
