चार दलको बैठक सकिएको छ । बैठकमा नेपाली काङ्ग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ ।
शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँगको छलफलमा काङ्ग्रेसले आफ्नो अडान राखेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै काङ्ग्रेसका महामन्त्री गगन थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा स्वाभाविक दाबी गरेको बताए ।
महामन्त्री थापाले बैठकमा काङ्ग्रेसबाहेकका दलहरूले पनि राष्ट्रपतिमा आ–आफ्नो दाबी गरेको उल्लेख गर्दै प्रस्तावमा आएका नामहरूका बारेमा दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरी फेरि ५ बजे बैठक बस्ने सहमति भएको जानकारी दिए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरूले सहयोग गर्छन् भन्ने अपेक्षा राखेको छ । यसैगरी अन्य दलको तर्फबाट फरक प्रस्तावहरू आए तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ ।’
