आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको मैदानमा सिटीको जितका लागि केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक–एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा ब्रुएनको गोलबाट सिटीले सुरुआती अग्रता बनाएको थियो । ४२ औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २–१ को बन्यो । ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा पुगेको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनलको पनि समान ५१ अंक छ ।
