रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले बागमती प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत रत्ननगर–२ मा निर्माणाधीन फुटपाथसहितको सडक तथा नालाको अनुगमन तथा निरीक्षण गर्दै गुणस्तरयुक्त निर्माण सामग्रीको प्रयोग गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
नगरप्रमुख सापकोटाले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई नगरपालिकाले कडारूपमा कारबाही गर्ने चेतावनीसमेत दिए । ‘विकास निर्माणमा अवरोध पुर्याउन खोज्ने र पुर्याउने दुवैलाई कारबाही हुन्छ’, उनले भने, ‘विकासका काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न पाइँदैन ।’
रत्ननगर–२ को रत्ननगर बकुलहर अस्पतालदेखि सुब्बाचोकसम्म फुटपाथसहितको सडक तथा नाला निर्माणको लागि इन्द्रदेवी–हरि जेभीसँग कुल २ करोड ३६ लाख ८८ हजार ३४२ रुपैयाँमा माघ २१ गते ठेक्का सम्झौता भएको हो ।
बागमती प्रदेश सरकारबाट स–शर्त अनुदान स्वीकृत भई आएको बजेट ५० लाख र नगरकार्यपालिकाको बैठकबाट चालू आर्थिक वर्षको अन्य विविध सार्वजनिक निर्माण शीर्षकमा विनियोजित रकममध्ये २ करोड १० लाख खर्च व्यहोर्नेगरी भएको निर्णयअनुसार कुल २ करोड ६० लाख विनियोजित बजेटमार्फत फुटपाथसहितको नाला निर्माण गरिन लागेको हो ।
चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन हुने गरी कार्यपालिकाको २०७९ असोज ५ गतेको बैठकबाट निर्णय भई नेपाल सरकार सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा व्यवस्था भएबमोजिम सो आयोजनाको लागि विद्युतीय सिलबन्दी बोलपत्र सूचना आह्वान् गरिएको थियो ।
नगरको सो आयोजनाका लागि स्थानीयले स्वतःस्र्फूत सडक क्षेत्रभित्र पर्ने स्थायी÷अस्थायी संरचना हटाएर नगर आयोजनालाई सहयोग गरेका छन् । सो आयोजनाअन्तर्गत ४६३ मिटर लम्बाइको सडक निर्माण हुनेछ । जसमा आठ मिटर कालोपत्रे र दुवैतर्फ डेढ/डेढ मिटरको फुटपाथ र नालासहित कुल ११ मिटर चौडाइको सडक निर्माण हुने रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।
सो आयोजनाको अनुगमनमा इन्जिनियर पंकज गिरी, रत्ननगर न्यायिक समितिका सदस्य देवेन्द्र भुजेल, रत्ननगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष माधव अर्याललगायतको सहभागिता रहेको थियो ।
