पालिकाको बार्षिक योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने मोरङका स्थानीय तहका प्रमुख-उपप्रमुखहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेतापनि सञ्चार क्षेत्रको खवरदारी आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी धामी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाए । उनीहरुले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरुको पनि विवरणहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष संजीव खनालले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले सहयोग गर्ने बताए ।
