सेयर बजार परिसूचक नेप्से ७.१६ अङ्कले घटेको छ । बुधबार नेप्से ७.१६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।
आज अन्यबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले घटेको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता सेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको सेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको सेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।
