काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ ।
आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ ।
नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न राजी भएको बुझिएको छ । यसअघि उनले बैठक राख्न अस्वीकार गर्दै आएका थिए । ओलीले बैठक डाक्न नमानेपछि सचिवालयका बहुमत सदस्यले अल्टिमेटम दिएर आफै बैठक राख्ने घोषणा गरेका थिए ।