विराटनगरको दरैयामा गाडी तोडफोड गरी लुटपाट भएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१६ दरैयामा रेटन कम्पनीको सरफको मार्केटिङका लागि प्रयोग गरिएको को २ च ९३०२ नम्बरको पिकअप गाडी शनिबार साँझ ५ः४५ बजेतिर तोडफोड गरी लुटपाट भएकाे हाे ।
सरफको मार्केटिङमा खटिएकाको साथमा रहेको नगद पनि लुटपाट गरेर तोडफोडमा संलग्न फरार बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
तोडफोडबाट गाडीमा क्षति पुगेको छ । अगाडि र झ्यालका शिशा फुटेका छन् । तोडफोडपछि गाडीमा रहेकाको साथबाट १२ हजार ३ सय रूपैयाँ लुटपाट गरिएको श्रेष्ठले बताए ।
तोडफोड एवं लुटपाट गर्ने गिरोहले सरफको मार्केटिङमा हिँडेका गाडीका चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का २७ वर्षीय प्रदीप खड्का, ३६ वर्षीय जनक साह र ३० वर्षीय प्रेम सुवेदीलाई कुटपिट पनि गरेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा विराटनगर–१६ का अन्दाजी २६ वर्षीय अनुप सुडी साहलगायत ४ जनाको संलग्नता देखिएको छ । ३ जनाको पहिचान प्रहरीले खुलाएको छैन । घटनामा संलग्न सबैको पहिचान भइसकेको प्रहरीले बताए पनि उनीहरु हालसम्म पक्राउ परेका छैनन् ।
प्रहरीका अनुसार घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेको पाइएको छ । डीएसपी श्रेष्ठले घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नालको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए ।
