नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जिकिर गरेका छन् ।
मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी काङ्ग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ ।
काङ्ग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्नेबारेमा शर्माले विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छाैँ ।’
नेपाली काङ्ग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो ।
