प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न अपिल गरेको छ । आत्मदहको घटना बढेपछि प्रहरीले यस्तो अपिल गरेको हो ।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्महत्या गरेका थिए । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । सिभिल मल अगाडि पनि एक युवकले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।
आत्मदहका घटना बढेपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न अपिल गरेको हो ।
आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।
