नेकपा एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।
मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत खसेको छ । उनका विपक्षमा एक सय मत खसेको छ । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका छन् ।
सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । यस्तै उनको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने थिए ।
सभामुखका लागि नेपाली काङ्ग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा थिइन् । उनको प्रस्तावकमा काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका थिए ।
सभामुखमा निर्वाचित घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन ।
