सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले भने, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर आज आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” उनका अनुसार सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि आजै मन्त्रिपरिषद् विस्तार हुनेछ । आज नै सपथ ग्रहण कार्यक्रम हुनेछ ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।
