सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीवार त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईको सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामन्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो ।
यसैगरी बिहिबार नै भएको अर्काे खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) कृष्ण एकेडेमी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बी’ मा रहेको एपीएफ कृष्ण एकेडेमीलाई तीन–शून्यको सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले पहिलो सेट २५–४, दोस्रो सेट २५–४ र तेस्रो सेट २५–३ ले जित्यो ।
