मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् ।
शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।
