पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका हुन् ।
‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो ,’ उनले भने,‘हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’ समझदारी अझै रहेको उनले बताए ।
प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताए ।गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।
