Nepali Unicode | Preeti to Unicode

अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्समाथि कठिन जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले अर्जेन्टिनाले बाजी मार्यो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । एन्जो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुके ।

पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।  भिर्गिल भान डाइक र स्टिभन बेर्घुइसले गोल गर्न सकेनन् ।

लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

मेस्सीको यो दशौँ विश्वकप गोल हो ।

खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल  गरेपछि खेल बराबरीमा सकिएको थियो ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर