कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ई का चार टोलीले समूह चरणको अन्तिम खेल खेल्दैछन् । आज राति पौने १ बजे स्पेनले जापानसँग र जर्मनीले कोस्टारिकासँग खेलन लागेका हुन् ।
जारी विश्वकपको यो समूहमा दुई पूर्व विजेता छन् । अन्य समूहमा दुई पूर्व विजेता समावेश थिएनन् ।
विश्वकपअघि २०१० को च्याम्पियन स्पेन र २०१४ को च्याम्पियन जर्मनीलाई यस समूहबाट नकआउट चरण पुग्ने टिमको रुपमा हेरिएको थियो । तर समूह चरणमा हरेक टिमले दुई– दुई खेल खेलेपछि समूह चरणको अन्तिम खेल रोमाञ्चक बनेको छ ।
समूहको पहिलो खेलमा जर्मनी जापानसँग पराजित भएको थियो । स्पेनले कोस्टारिकालाई फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
आज अन्तिम खेल खेल्न लागेका यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना छ । स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीच हुने खेलपछि नकआउट चरणमा पुग्ने र बाहिरिने टिमको टुङ्गो लाग्नेछ ।
एक जित र एक बराबरीसहित ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको समान ३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । एक हार र एक बराबरीबाट १ अंक जोडेको जर्मनी पुछारमा छ ।
समूहमा स्पेन सहज अवस्थामा देखिन्छ भने जर्मनी धेरै दबाब छ । जापान र कोस्टारिका भने आफू अनुकुल नतिजाको पर्खाईमा छन् ।
स्पेनको लागि जापानसँग जित वा बराबरीले अन्तिम १६ काे यात्रा तय गर्नेछ । जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । त्यसका लागि जर्मनी र कोस्टारिकाले बराबरी खेल्नुपर्छ वा जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टारिकाले जर्मनीलाई हराएको अवस्थामा स्पेन घर फर्कन्छ ।
जापानको लागि भने अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनुपर्ने दबाब छ । पराजित भए जापान समूह चरणबाट बाहिरिनेछ । स्पेनसँग बराबरी भएमा भने जापानले अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ ।
अर्काे खेलमा जर्मनीलाई पराजित गरे कोस्टारिका अन्तिम १६ मा पुग्नेछ । बराबरीले पनि कोस्टारिका अघि बढ्न सक्ने सम्भावना छ ।
जर्मनीको लागि नकआउट चरणमा स्थान बनाउन कोस्टारिकाविरुद्धको खेल जित्नैपर्ने दबाब छ । अर्को खेलमा स्पेनले जापानलाई पराजित गरेमा जर्मनी आफ्नो खेल जित्दै अन्तिम १६ मा पुग्नेछ । जापानले स्पेनलाई पराजित गरे जर्मनीको सम्भावना कठिन हुनेछ ।
