फिफा विश्वकप फुटबलमा जर्मनीको दोस्रो चरण कठिन बनेको छ । समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १– १ गोलको बराबरी खेल्दै अंक बाँडेका कारण दोस्रो चरण कठिन भएको हो । पहिलो खेलमा जर्मनी कमजाेर मानिएकाे जापानसँग पराजित भएको थियो ।
कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवावमा परेको थियो । समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे ।
बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।
समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ । नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।
