बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्। नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेद्वारका रूपमा हेरिएको थियो। क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए।
बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन्। उनी दुई हजार दुई सय मतान्तरले विजयी भएका हुन्।
जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन्। बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो। त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो।
बाँके २ (२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाएका छन्।
