काठमाडौंको तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिजयी भएको छ ।
काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएपछि स्वतन्त्रको नाम जोडेर रवि लामिछानेले खोलेको पार्टीबाट काठमाडौं क्षेत्र नम्बर–२ मा सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । गौतम सो पार्टीको उपाध्यक्ष हुन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा परिन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५, राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ पाइन् । ओनसरीलाई ९ हजार ४४९ मत आएको थियो ।
काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाइन् ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।
