म्यानचेस्टर युनाइटेडबाट आफूले धोका पाएको भन्दै फरवार्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने तयारी गरेका छन् । उनले क्लबले पनि आफूलाई निकाल्न खोजेको गुनासो गरेका छन् ।
टक टिभीमा दिएको अन्तर्वार्तामा उनले क्लब नेतृत्वप्रति असन्तुष्टि जनाउँदै क्लब छोड्ने तयारी गरेकाे उल्लेख गरेका हुन् । रोनाल्डोले युनाइटेडका पूर्व प्रशिक्षक राल्फ राग्निक, वर्तमान प्रशिक्षक एरिक टेन हाग र क्लबका अन्य पूर्व खेलाडी र नेतृत्व आफ्ना विरुद्धमा रहेको बताएका छन् ।
‘मलाई क्लबबाट धोका दिएको महसुस भएको छ,’ उनले भनेका छन् ,‘प्रशिक्षकबाट मात्र होइन, क्लबका अन्य उच्च पदका पदाधिकारीलाई पनि मलाई केहि वास्ता छैन, तर सबैले साँचो कुरा थाहा पाउनुपर्छ ।’
रोनाल्डोले गत साता एस्टन भिल्लाविरुद्ध टोलीको कप्तानी गरेका थिए । तर सो खेलमा युनाइटेड ३– १ ले पराजित भएको थियो । त्यसयता उनी टोलीमा परेका छैनन ।
रोनाल्डोले आफू प्रशिक्षक टेन हागलाई सम्मान नगर्ने पनि बताए । ‘मलाई उनीप्रति कुनै सम्मान छैन किनभने उनले पनि मलाई सम्मान देखाएनन् । यदि कसैले मलाई सम्मान गर्दैन भने म कहिल्यै उनलाई सम्मान गर्ने छैन,’ उनले भनेका छन् ।
