नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् ।
शनिबार कैलालीमा आयोजित चुनावी सभामा ओलीले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी सकिने बताएका हुन् ।
उनले भने, ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीले भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ ।’
एकीकृत समाजवादीबाट धेरै नेताहरू एमालेमै फर्किसकेको पनि ओलीले दावी गरेका छन् । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान, ४ मंसिरसम्म सबै आइसक्छन्’ उनले भने ।
ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए ।
