Nepali Unicode | Preeti to Unicode

फ्रान्समा हालै भएको घटनाबारे आफ्नो अभिव्यक्ति दिएका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसँग बलिउड अभिनेत्री कंगना रनौत भड्किएकी छिन् ।

प्रधानमन्त्री जस्टिन ट्रूडोले फ्रान्समा भएको आक्रमणबारे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोले तर उनले केही समुदायले मनमानी र अनावश्यक तरिकामा चोट पुर्‍याउन नहुने पनि बताए । उनले यो कुरा फ्रान्सको शार्ली हेब्दो पत्रिकामा छापिएको पैंगबर मोहम्मदको कार्टुनका आधारमा भनेका थिए ।

उनले भने, “हामीले जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्दछ । यद्यपि अभिव्यक्तिको स्वतन्त्रता सीमासँगै जोडिएर आएको हुन्छ । हामीले दोस्रो व्यक्तिको सम्मान गर्दै काम गर्नुपर्छ र जो सँग हामी यो समाज र ग्रहमा बस्छौं उनीहरुलाई अनावश्यक रुपमा चोट पुर्‍याउनु हुँदैन । भिडले भरिएको सिनेमा हलमा आगो आगो भन्दै चिच्याउने अधिकार हामीसँग छैन । हरेक अधिकारको सीमा हुन्छ ।”

उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भनाइलाई असमर्थन जनाउँदै अभिव्यक्ति स्वतन्त्रतालाई होसियारीपूर्वक प्रयोग गर्न पनि अनुरोध गरे । साथै उनले फ्रान्समा भएको हिंसात्मक घटनाहरुका लागि निन्दा र शोक पनि व्यक्त गरे ।
क्यानडाको संसद्‌मा बिहीबार फ्रान्सस्थित निसको एक चर्चमा भएको हमलामा मारिएका तीन व्यक्तिहरुप्रति शोक व्यक्त गर्दै मौन धारण गरिएको थियो ।

जस्टिन ट्रूडोको यही भनाइमा अभिनेत्री कंगनाले ट्‌विट गर्दै उनलाई केही प्रश्न गरेकी थिइन, “प्रिय जस्टिन हामी आदर्श संसारमा बाँचिरहेका छैनौं, मानिसहरु दिनहुँ सिग्‍नल तोड्छन्, लागुऔषध लिन्छन्, दुर्व्यवहार गर्छन् र अरुको भावनामा चोट पुर्‍याउँछन । यदि हरेक सानो अपराधको सजाय एकअर्काको घााँटी दबाउने हो भने हामीलाई प्रधानमन्त्री र कानुन व्यवस्थाको किन आवश्यक ?”

 

 

उनले ट्रूडोलाई ट्याग गर्दै अर्को ट्‌विटमा लेख्छिन्, “यदि कसैले राम, कृष्ण, माँ दुर्गा, अल्लाह वा येशु ख्रिस्टजस्ता कुनै भगवान्‌को कार्टुन बनाउँछ भने उसलाई सजाय दिनुपर्छ । यदि कार्यस्थल वा सामाजिक सन्जालमा यस्तो गर्छ भने उसलाई रोक्नुपर्छ । यदि खुलेआम यसो गर्छ भने उसलाई ६ महिनाका लागि जेल पठाउनुपर्छ, यही नै मानिसहरुको नास्तिक हुने अधिकार हो ।”

शार्ली हेब्दो पत्रिकामा छापिएको पैंगबर मोहम्मदको उक्त कार्टुन फ्रान्सको स्कुलको एउटा कक्षामा देखाउँदा उक्त शिक्षकको हत्या गरियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यो कार्टुन छाप्ने अधिकारको पक्षमा बोले र शिक्षकमाथि भएको आक्रमणलाई इस्लामिक कट्टरपन्थीको संज्ञा दिए ।

केही मुस्लिम देशहरुमा म्याक्रोनको बयानको विरोध गर्दै फ्रान्सेली सामानहरुको बहिष्कार पनि गरियो । त्यसपछि फ्रान्सको एउटा चर्चमा आक्रमण गरियो जसमा तीन व्यक्तिको ज्यान गयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय