रियल म्याड्रिड स्पेनिस ला लिगामा फुटबलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरी रोकिएको हो । बराबरीमा रोकिएपनि रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले दोस्रो स्थानको बार्सिलोनासँग १ अंकको अग्रता बनाएको छ ।
रियलका लागि भिनिसियस जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । तर जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल गरे ।
आइतबार राति भएको खेलमा रियल हावी देखिएको थियो । ७०औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ७८औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए ।
९०औं मिनेटमा रोड्रिगोले मारियानो डियाजको पासमा गोल गरेपनि भिएआरले मान्यता नदिएपछि रियल बराबरीमा रोकिएको हो । इन्ज्युरी समयको पहिलो मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो । टोनी क्रुस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
ला लिगाको शीर्ष स्थानमा रहेको अपराजित छ । रियलको १२ खेलबाट खेलबाट ३२ अंक पुगेको छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ ।
