बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतवार जिल्ला अदालत काठमाण्डौले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुमतिका लागि समय थपेको हो ।
यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो ।
अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको जानकारी दिए । उनले आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी रहेको पनि बताए ।
उनले नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको बताए ।
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
