Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् ।

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री देउवा पोखरा जाने भएका हुन् ।

पोखरा रंगशालामा आज साँझ राष्ट्रिय खेलकुदको भव्य समापन समारोह हुँदैछ । प्रतियोगिताको च्याम्पियन टोलीलाई प्रधानमन्त्री देउवाले रनिङ शिल्ड प्रदान गर्ने  राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा कार्यक्रम उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ। यसअघि गत असोज २८ मा सुरु राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँवरले जानकारी दिए। उनले भने, ‘जसरी हामीले भव्य उद्घाटन गरौँ, त्यसरीनै हजारौँको सहभागितामा नवौँ राष्ट्रिय खेलकुदको बिदाइ गर्ने छौँ ।’

समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर