नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन्।
मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन ? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईँहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने।उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए।
‘लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ सकिइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौँ,’ उनले भने, ‘म पटक-पटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईँहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेको ? के पाउनुहुन्छ ? केही पाउनुहुन्न।’
