जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिस्तारै नेपालको मौसम सफा हुँदै जानेछ । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने भएको हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मौसम क्रमिकरूपमा सुधार हुँदै गएको हो । महाशाखाका मौसमविद् हीरा भट्टराईले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए ।
मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
