२०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् ।
गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा एमाले र जनता समाजवादी पार्टीको ।
पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका अनुभवी बोहराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहरा रुपन्देही–१ बाट चुनाव लड्न चाहन्थे, किनभने उनलाई जितका लागि त्यहाँ सहज थियो ।
३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा–जसपा गठबन्धन १२ हजार मतले अघि छ । तर एमाले सचिव छविलाल विश्वकर्माले २०७४ मा जितेको आफ्नो क्षेत्र नछाडेपछि बोहराले गृहमन्त्री खाँणलाई प्रतिस्पर्धीका रुपमा स्वीकार्न पुगेका हुन् ।
