राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव लड्ने चितवन क्षेत्र नम्वर २ मा कसको पल्ला भारी हुने भन्ने आङ्कलन सुरू भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त क्षेत्र छोडेर गोरखा गएपछि रविको पक्षमा माहोल बन्ने विश्लेषण गरिएको छ ।
चितवन २ भूगोलका हिसावले सबभन्दा कठिन मानिन्छ । यो क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन । गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका एमालेले जितेको थियो । भरतपुरका बढि मतदाता भएको क्षेत्र पनि एमालेले आफ्नो पोल्टामा पारेको थियो । नारायणगढ बजार वडा नंवर १,२, ३० भरतपुरको वडा नंवर १०, ११, १२ क्षेत्र शहरी भागमा पर्छन ।
चितवनमा एमाले र कांग्रेस बलियो देखिएपनि भोट क्रस हुने सम्भावना प्रवल देखिएको छ । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहको ऐतिहासिक जितले रविको पक्षमा पनि उस्तै माहोल बन्नेमा कतिपयको मत छ । चितवन २ मा एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार छन् ।
गत निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार रहेका उनी ४४ हजार ६७० मतका सात विजयी हुँदा कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । त्यसैले रविका लागि प्रमुख चुनौती एमाले उम्मेदवार पोखरेल नै हुन् । तटस्थ मत पनि तान्न सक्ने भएकाले पोखरेलमाथि रवि भारी हुने अनुुमान छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठ अर्को चुनौती हुन् ।उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । तर मतदाताको मनसिकतामा परिवर्तन आएकाले पुरानो गणितले काम नगर्ने स्वतन्त्र पार्टीको दाबी छ ।
