अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा आजदेखि जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ ।
यस अघि भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज थुनछेक बहस हुने शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले बताए ।
अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेको भनाइ छ । नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाय, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो ।
गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका हुन् ।
शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएपछि शाहको निवेदन अदालतले अस्वीकृत गरेको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका पिताले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।
