विभिन्न तीन वटा सरकारी कार्यालयमा भ्रष्टाचार गर्ने लेखा अधिकृतलाई ९ वर्ष कैद र ४ करोड रुपैयाँ बिगो जरिवाना तिराउने फैसला भएको छ ।
उदयपुरको कटारी र इलामको माई नगरपालिकाका साथै सोलुखुम्बुको स्वास्थ्य कार्यालयमा कार्यरत छँदा सरकारी खाताको रकम दुरुपयोग गर्ने रविनचन्द्र ढकाललाई विशेष अदालतले सजाय सुनाएको हो ।
आफू र आफन्तको नाममा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति राखेको ठहरसहित विशेषले तत्कालीन लेखा अधिकृत ढकाललाई सजाय सुनाएको हो । ढकालबाट चार करोड १३ लाख ७० हजार बिगो असुलउपर गर्न पनि आदेश दिएको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले उनीविरुद्धका तीनवटा मुद्दामा फैसला गरेको हो । ढकाल कटारी नगरपालिकाको लेखा अधिकृत छँदा प्रमुख प्रशासकीय अधिकृतहरूको किर्ते दस्तखत गरी नगरपालिकाको रकम हिनामिना गरेको एउटा मुद्दा थियो । राष्ट्रिय वाणिज्य बैंकमा पठाएको सामाजिक सुरक्षाबापतको तीन करोड ९८ लाख नगरपालिकाको सञ्चित खाताबाट आफ्नो खातामा हालेर उनी ३ वैशाख ०७५ मा फरार भएका थिए ।
त्यसमध्ये २७ लाख मात्र आफ्नो खातामा राखेर बाँकी सबै झिकेको अनुसन्धानमा खुलेको थियो । ०७४ माघमा तलबसमेत दोहोरो निकालेको अनुसन्धानमा खुलेको थियो । १३ वैशाखमा उनी काठमाडौंबाट पक्राउ परेका थिए ।
अधिकांश रकम परिवारजन र आफन्तको खातामा राखेको खुलेको थियो । त्यस्तै, माई नगरपालिकामा पनि मिलेमतोमा तीन करोड भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेको थियो ।
विशेषमा यी दुई मुद्दा विचाराधीन रहेकै वेला उनीविरुद्ध अर्को उजुरी आएपछि अख्तियारले पुनः अनुसन्धान गरेर अर्को मुद्दा दायर गरेको थियो । ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा कार्यरत रहँदा गलत लिखत तयार गरी १४ लाख ८९ हजार रुपैयाँभन्दा बढी अनियमितता गरी आफ्नो खातामा राखेको पुष्टि भएको थियो ।
उनले अनियमितता गरेको पैसा राखेका परिवारजन र आफन्तलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा ९ भदौमा विशेष अदालतले ढकाललाई दोषी ठहर गर्दै दुवै पक्षका कानुन व्यवसायीसँग सजाय निर्धारणका लागि प्रतिवेदन माग गरेको थियो । जसअनुसार बुधबार सजाय सुनाइएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।
उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ९ का साथै ३ (झ) बमोजिमको कसुर पुष्टि भएको हो । जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरूको नाममा रहेको सम्पत्ति भने जफत हुने भएको छ ।
