प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने भएका छन् । उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउने तय भएको हो ।
भ्रमणका क्रममा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवम् छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछन् ।
भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । साथै, उनले आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको नेपाली सेनाले जनाएको छ ।
