नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता शंकर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्।
पौडेल २०७४ को प्रतिनिधि सभा चुनावमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए।
तनहुँ २ बाट दाबी नगरेर भण्डारीले यसपालि तनहुँ १ मा उठ्ने तयारी गरिरहेका छन्।
यस्तै तनहुँ १ बाटै पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि सोमबार आवेदन दिएका थिए। तनहुँ कांग्रेसले आज पनि इच्छुकको आवेदन लिने बताएको छ। आवेदन आएका नाम संकलन गरी तनहुँ कांग्रेसले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नेछ।
कांग्रेसले हिजोआज प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका बैठक राखेर आगामी चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न आवेदन लिइरहेको छ।
भदौ १८ गतेसम्म क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाउनेछ। प्रदेशले भदौ २० सम्म ती नाम अध्ययन गरेर रायसहित केन्द्रीय कार्यसमितिमा नाम पठाउनेछ।
कांग्रेसमा चुनावमा टिकट दिन केन्द्रीय संसदीय बोर्ड छ। उक्त बोर्डमा पदाधिकारीबाहेक नेता पौडेल मात्रै सदस्य छन्। संसदीय बोर्डलाई सभापति देउवाले पूर्णता दिइसकेका छैनन्।
रामचन्द्र पौडेलले आफू पहिले जहाँबाट पराजित भएको हो त्यहीबाट यसपालि चुनाव उठ्ने र जितेर आउने दाबी गरिरहेका छन्। पौडेल कांग्रेसको गत मंसिरमा भएको १४ औं महाधिवेशनमा मौन बसेका थिए।
पौडेललाई त्यसपछि सभापति देउवाले सत्ता गठबन्धनका विभिन्न भूमिकामा जिम्मेवारी दिँदै आइरहेका छन्। केन्द्रीय सदस्य भण्डारी पनि देउवानिकट हुन्। तनहुँबाट सिफारिसमा परेकामध्ये अधिकांश सभापति देउवानिकट नै छन्। यसकारण तनहुँ १ मा टिकट दिन देउवामाथि चुनौती छ।
यसअघि २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ १ बाट जितेका थिए। उनी नेकपा एकीकृत समाजवादीमा छन्। एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा छ। कांग्रेसले पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरेको छ।
कृष्णकुमारले पनि तनहुँ १ मा दाबी गरेका छन्। आफ्नै पार्टीभित्रका आकांक्षी र गठबन्धनबाट समाजवादीका किसानलाई मिलाएर टिकट दिलाउन सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासमक्ष चुनौती देखिएको छ।

