रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट रुसमा आइपुग्ने मानिसहरूलाई पैसा बाँड्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनले यस्तो आदेशपत्रमा हस्ताक्षर गरेका हुन् ।
रुसको सरकारी पोर्टलमा राखिएको सो आदेशपत्रमा गत १८ फेब्रुअरीयता युक्रेनी भूमि छाडेर रुसमा आउन बाध्य प्रत्येक व्यक्तिलाई मासिक पेन्सनबापत १ सय ७० अमेरिकी डलर प्रदान गरिने उल्लेख गरिएको छ ।
पुटिनले बन्दी, गर्भवती महिला तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई समेत सो रकम वितरण गरिने बताएको समाचारमा उल्लेख छ ।
उक्त आदेश पत्रमा युक्रेनी नागरिक तथा पूर्वी युक्रेनको स्व–घोषित दोनेत्स्क र लुहान्स्क जन गणतन्त्रका जनतालाई यो आर्थिक सुविधा प्रदान गरिने जनाइएको छ ।
गत फेब्रुअरीमा रुसले लुहान्स्क र दोनेतस्कलाई स्वतन्त्र घोषित गर्दा युक्रेन र पश्चिम जगत्ले विरोध गरेका थिए ।
यसअघि नै मस्कोले युक्रेनी रुसीहरूलाई पासपोर्ट जारी गर्ने काम थालिसकेको छ । यस कार्यलाई युक्रेन र संयुक्त राज्य अमेरिकाले अवैध करार गर्दै यो मस्कोको आफ्नो नियन्त्रणमा रहेको भू–भाग रुसमा गाभ्ने चाल भएको बताएका थिए । (रोयटर्स)
