पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रतिआतंकवाद कानुनअनुसार मुद्दा चलाउने तयारी गरिएको छ ।
आफ्ना सहयोगीलाई थुनामा राखेको र यातना दिएको भन्दै प्रहरी र न्यायालयविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनीमाथि प्रहरीले छानबिन थालेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खानका निकट सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन् ।
खानको घरबाहिर ठूलो संख्यामा जम्मा भएका उनका समर्थकले उनी पक्राउ परेमा आफूहरूले ‘स्थितिलाई नियन्त्रणमा लिने’ चेतावनी दिएका छन् ।
जसका कारण पाकिस्तानमा तनाव चुलिएको समाचारहरुमा जनाइएको छ । यद्यपि, उनलाई बिहीबारसम्म ‘पक्राउ नगर्ने गरी जमानत’ दिइएको छ ।
गत अप्रिलमा सत्ताबाट हटेयता खानले पाकिस्तान सरकार र सेनाको कडा आलोचना गर्दै आएका छन् । क्रिकेट खेलाडीबाट राजनीतिमा प्रवेश गरेका खान सन् २०१८ को अगस्टदेखि २०२२ को अप्रिलसम्म प्रधानमन्त्री बनेका थिए ।
एक सार्वजनिक कार्यक्रममा शनिबार बोल्दै खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेर दुर्व्यवहार गरिएको भन्दै इस्लामावाद प्रहरी प्रमुख र एक महिला न्यायाधीशमाथि कडा टिप्पणी गरेका थिए ।
‘तिमीहरू पनि तयार रहनु । तिमीहरूलाई पनि हामी कारबाही गर्छौं,’ भाषणका क्रममा खानले चेतावनी दिएका थिए । राज्यका अधिकारीविरुद्ध खानले दिएको धम्की देशको प्रतिआतंकवाद कानुनविपरीत भएको दाबीसहित प्रहरी अधिकारीहरूले मुद्दा लगाउने तयारी थालेका हुन् ।
इस्लामावाद उच्च अदालतले खानको पक्षमा तीनदिने ‘संरक्षित जमानत’ स्वीकार गरेको छ । प्रहरीले खानविरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएसँगै उनका सयौं समर्थकहरू इस्लामावादस्थित निवासबाहिर भेला भएका छन् । प्रहरीले भने खानलाई पक्राउ नगरिने जनाएको छ ।
खानको निवासबाहिर रहेका प्रहरीले शान्तिसुरक्षा व्यवस्थापनका लागि खटिएको बताएका छन् । पछिल्लो घटनाक्रमबारे खानले भने केही टिप्पणी गरेका छैनन् ।
