मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाको साथबाट दुईवटा पेस्तोल बरामद भएको छ ।
दुईवटा पेस्तोलसहित सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र त्यसको केही बेरपछि उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । सशस्त्रले सुरुमा आलमलाई नियन्त्रणमा लिएको थियो ।
को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतिर आउँदै गर्दा आलमलाई साँझ ५ बजेतिर सुनवर्षी–८ खरेबारीबाट पक्राउ गरिएको एसपी लामिछानेले बताए । उनका अनुसार शङ्का लागेर चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजीन र एक राउन्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको थियो ।
सोधपुछका क्रममा उक्त हतियार धिमालले मगाएको खुल्यो । त्यसलगत्तै खटिएको सशस्त्र प्रहरीले राति ८ बजेतिर रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट धिमाललाई पक्राउ गरेको हो । को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार सात सय ७० रूपैयाँसहित धिमाल पक्राउ परेको एसपी लामिछानेले बताए ।
पक्राउ परेका दुवै जनालाई सशस्त्रले कारबाहीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीको जिम्मा लगाएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट दुवै जना हतियारका कारोबारी भएको पत्ता लागेको छ ।
आलम भारतबाट नेपालतिर हतियार भित्राउने धन्दामा संलग्न रहेको प्रहरीको भनाइ छ । आलमले भारतबाट भित्राएर उपलब्ध गराएको हतियार खरिद गर्दै धिमालले भने अरुलाई बिक्री गर्ने गरेको प्रहरी स्रोतले बतायो । ‘पक्राउ परेकाहरुका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘पृष्ठभूमिलाई समेत आधार बनाएर प्राविधिक पक्षबाट अनुसन्धान अघि बढाएपछि विस्तृत कुरा पत्ता लाग्छ ।’
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर सुरक्षा सतर्कता बढाउन सशस्त्रलाई निर्देशन दिएका छन् । सीमा क्षेत्रबाट हुने हातहतियार एवम् लागुऔषधको ओसारपसार, अवैध धन्दा र विभिन्न खालका अपराध नियन्त्रणमा लिन उनको निर्देशन छ ।
