Nepali Unicode | Preeti to Unicode

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा ६ लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका कोइरालाले निर्वाचन आयोगले तोकेको सीमाभन्दा कम रकम खर्च गरेको विवरण बुझाएका हुन् ।

निर्वाचन आयोगले महानगरपालिका प्रमुख–उपप्रमुख उम्मेदवारलाई ७ लाख ५५ हजार खर्च गर्न सक्ने सीमा तोकिदिएको छ । आयोगले तोकेको भन्दा ९५ हजार कम खर्च गरेको विवरण कोइरालाले पेस गरे ।

साउन २८ गते निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा मतदाता नामावली खरिदमा १ हजार,  सवारीसाधनमा १ लाख ३५ हजार, इन्धन खरिदमा ३५ हजार, प्रचारप्रसार सामाग्रीमा ९५ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

त्यस्तै ढुवानीमा २५ हजार, गोष्ठी र कार्यकर्ता परिचालनमा १ लाख ३५ हजार, विद्युतीय र छापा माध्यमबाट प्रचारप्रसारका लागि ९० हजार, कार्यालय सञ्चालनमा ७५ हजार, प्रतिनिधि परिचालनमा  ५० हजार र अन्य शीर्षकको खर्चमा २४ हजार खर्च गरेको विवरण पेस गरेका छन् ।

कोइराला विराटनगरका धनाढ्य परिवारका सदस्य हुन् । उनले विराटनगर बजार क्षेत्रमा साढे ४ बिगाह जग्गा, ३ करोड ३० लाखको प्राडो गाडी, ८० तोला सुन र १० लाख बैंक मौज्दात रहेको सम्पति विवरण महानगरपालिकालाई बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर