सोमबार सेयर बजारमा हरियाली छाएको छ ।
साताको दोस्रो कारोबारको दिन नेप्से सूचक ५५.८८ अङ्कले बढेर २०६५.८९ विन्दुमा पुगेको हो । सोमबार नेपाल बैङ्कर्स सङ्घले भदौ महिनामा पनि मुद्दती निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेसँगै सेयर बजारमा चमक आएको विश्लेषण गरिएको छ ।
६ महिनादेखि स्थिर रहेको ब्याजदर भदौमा पनि नबढ्ने भएको हो । सोमबार झण्डै साढे २ अर्बको सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । फाइनान्स, विकास बैङ्क र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ।
यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले उकालो लागेको छ । विकास बैङ्क उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ । यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
आजै कारोबार खुलेको रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । सोमबार शिवम सिमेन्टको सबैभन्दा बढी २१ करोड २ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
