Nepali Unicode | Preeti to Unicode

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति आज (बिहीबार) घोषणा हुने सम्भावना रहेको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्नसक्ने स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

सत्तारुढ गठबन्धन दलको बुधबार बालुवाटारमा बसेको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोक्ने विषयमा सहमति गरेको थियो । बैठकमा संसद्को कार्यकालका बारे पनि छलफल भएको थियो।

सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसारको मिति निर्वाचन आयोगले सिफारिस गरेको मिति हो। प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्तासाझेदार दल र विज्ञहरूसँग छलफल गरेरै मिति घोषणा हुन लागेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुने निर्वाचन आयोगले जनाएको छ । कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ साल  मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला र मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर