महोत्तरी प्रहरीले बैंकमा जम्मा गर्न दिएको रकम हजम गर्ने नियतले प्रहरीलाई झुटो उजुरी दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका ७ का ३६ वर्षीय अरुण चौधरी रहेका छन् ।
अरुण चौधरीले साउन १३ गते साँझ गौशाला न.पा.२ रेडक्रस नजिकै अज्ञात व्यक्तिले ५ लाख रुपैयाँ लुटेको भन्दै प्रहरीलाई झुटो सूचना दिएका थिए । सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट सुक्ष्म अनुसन्धान गरी प्राप्त भएको सिसिटिभी फुटेजहरु, सो वारदात स्थानको सडक हुँदै आवतजावत गर्ने स्थानीयसँगको सोधपुछ तथा पीडित भनिएका अरुण चौधरीसँग समेत सोधपुछ गर्दा सो रहस्य खुलासा भएको हो।
प्रहरी स्रोतका अनुसार अरुण चौधरीलाई उनका भाइ अनिल चौधरीले खातामा जम्मा गर्नका लागि ५ लाख नगद दिएका थिए । अनिलले आफैँले तिघ्रामा चक्कु प्रहार गरेर लुटपाट भएको नाटक रची भाइको पैसा हजम गर्न खोजेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भाइले दिएको ५ लाख रकममध्ये अरुणले सरपल्लोकी चाँदनी देवीलाई १ लाख ५६ हजार सापटी फिर्ता, ४९ हजार मनि ट्रान्सफरमा काम चलाउँदै गर्नु भनी श्रीमतीलाई छाडेको र बाँकी २ लाख ९५ हजार रकम मनी ट्रान्सफरको फण्डमा जम्मा गरेको अनुसन्धानको क्रममा प्रहरीले तथ्य फेला पारेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।
प्रदेश २–०२–००४ प.३३४७ न.को मोटरसाइकलमा सवार अरुण चौधरीले नं. प्लेट नखूलेको मोटरसाइकलमा आएका अपरिचित ३ जना मानिसहरुले मोटरसाइकलले बाटो छेकी छुरा प्रहार गरी घाइते बनाएर आफूले पछाडी भिरेको कालो रंगको झोला खोसी लगेको भन्दै प्रहरीमा उजुरी गरेका थिए।
पक्राउ परेका अरुण चौधरीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
