नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार नालायक सावित भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी प्रदेश १ ले मङ्गलबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकार नालायक र गैरजिम्मेवार बनेको आरोप लगाए । ‘राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिसहित मुलुकलाई सदृढ बनाउने विषयमा केही गरेन ।’
पोखरेलले आर्थिक विकास, समृद्धि, सामाजिक सद्भाव कायम राख्ने र देश बनाउने सपना जागृत गराउने सवालमा सरकार जिम्मेवार नबनेको आरोप पनि लगाए । उनले सरकार मूल्यवृद्धितर्फ केन्द्रित भएको पनि बताए । ‘इन्धनको मूल्य कहिले घटाउने र कहिले हप्तामै दुई पटकसम्म बढाउनेजस्ता नौटङ्की सरकारले गरिरहेको छ,’ उनले भने ।
नेता पोखरेलले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे । ‘एमालेलाई एक्ल्याउने सपना कसैले पनि नदेखे हुन्छ,’ उनले भने, ‘कसैले सपना देख्दैमा र कोसिस गर्दैमा एमालेलाई असर पर्दैन ।’ स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै सङ्गठनको बलमा अगाडि बढेको पार्टी भएकाले एमालेलाई एक्ल्याउन सम्भव नहुने उनको दाबी छ ।
आगामी निर्वाचनमा गठबन्धन गरेर आउँदा पनि एमाले सामना गर्न तयार रहेको पोखरेलले बताए । ‘निर्वाचन प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरिने अभ्यास हो । सक्छौ भने एक्लाएक्लै आउ । सक्दैनौ भने गठबन्धन गरेर आउ भनेको हो,’ गठबन्धन दलप्रति लक्षित गर्दै उनले भने, ‘गठबन्धन गरेर आए पनि एमाले सामना गर्न तयार छ । गठबन्धन कायम रहे पनि केही छैन । स्थानीय निर्वाचनमा पनि हामीले यही कुरा भनेको हो ।’ अहिल्यै मुलुकमा बाम तालमेलको सम्भावना नरहेको उनले बताए ।
प्रचण्डको भारत भ्रमणको उदेश्य तथा एजेन्डा के थियो र भम्रणका क्रममा उनले कति कुरा गरे एवम् गरेका कुरा कति लुकाए भन्नेतर्फ आफू जान नचाहने पोखरेलको भनाइ छ । प्रदेश खारेजीको कुरा एमालेले नउठाएको उनले स्पष्ट पारेका छन् । सहमतिका साथ बनाइएको संविधानमा स्पष्ट उल्लेख गरेर ल्याइएको व्यवस्थामा आफ्ना राजनीतिक कोणबाट कसले के भन्ला भन्ने कुराले अर्थ नराख्ने उनको तर्क छ ।
‘हामीले संविधानलाई अपरिवर्तनीय र अशंसोधनीय भन्दैनौँ । सबै दलको सहमतिमा बनेको राष्ट्रिय दस्तावेज संविधान हो । केटाकेटीको खेल हैन,’ उनले भने, ‘कुनै विषय छ भने दलहरुले एजेन्डा बनाएर छलफलमा ल्याउनुपर्छ । सहमतिका आधारमा केही कुरा हुन सक्छन् । तर एमालेबाट प्रदेश खारेजीको कुरा आएको छैन ।’
पोखरेलले प्रदेश १ को नामकरणको विषयमा केन्द्रको धारणा आवश्यक नभएको पनि बताए । ‘प्रदेश आफै अधिकार सम्पन्न छ । तर साझा र सबैलाई मान्य हुने नाम आउनुपर्छ,’ उनले भने, ‘नामको विषयमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । केन्द्रले हस्तक्षेप गर्यो भन्नु लुते कुरा मात्रै हो ।’
नेपालले अरु मुलुकसँग मित्रतापूर्ण सम्बन्ध चाहेको पनि उनको भनाइ छ । ‘नेपाल भ्रमणमा कुनै मुलुकका प्रतिनिधि आउनुलाई स्वभाविक लिनुपर्छ,’ उनले भने, ‘भ्रमणका सवालमा भने राष्ट्रिय स्वाभिमान, अखण्डता र मुलुकको इज्जतलाई ख्याल गर्नुपर्छ ।’ पोखरेलले अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन भइरहेकाले संसदीय समितिले प्रतिवेदन बुझाएपछि त्यसका बारेमा छलफल हुने पनि बताए ।
