घोराही सिमेन्टले प्रतिकित्ता ४३५ रुपैयाँमा प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) खुला गर्ने भएको छ ।
प्रिमियम मूल्यमा आइपीओ निकाल्ने प्रक्रिया थालेको सिमेन्टले हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्ट बैङ्किङलाई बिक्री प्रबन्धक तोकेको हो ।
एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै नागरिक लगानी कोष र घोराही सिमेन्टबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता समेत गरिएको छ ।
घोराही सिमेन्टको ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको अङ्कित मूल्य १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँको सेयरको प्रत्याभूति हुने कोषले जनाएको छ ।
