Nepali Unicode | Preeti to Unicode

सरकारको नेतृत्व गरिरहेको काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् ।

‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ, उनले राष्ट्र बैङ्कलाई सुझाव दिए, परियोजनामा आधारित कर्जा, बैङ्किङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’

सेयर बजारबारे राष्ट्र बैङ्कले ल्याएको नीति गलत रहेको पनि थापाको भनाइ थियो । उनले ठुला लगानीकर्तालाई पोस्नका लागि सानालाई पेल्ने नीति राष्ट्र बैङ्कले लिएकोमा आलोचना गरे ।

‘सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठुलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैङ्कले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौँ सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ उनको भनाइ थियो ।

यसरी राष्ट्र बैङ्कलाई सुझाव दिएका सांसद थापाले गभर्नरमाथि भने प्रश्न उठाएका छन् । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैङ्कको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम। अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’

गभर्नर अधिकारीको राजनीति दलमा आबद्धतालाई लिएर छानबिन गर्नुपर्ने माग माओवादी केन्द्रले संसद्‍मा नै उठाएको अवस्थामा सरकारको नेतृत्व गरिरहेको काँग्रेसका महामन्त्री थापाले पनि प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर