नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले राजनीतिमा आउने सङ्केत गरेका छन् ।
शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसङ्गको भेटमा उनले राजनीतिमा आउन सक्ने सङ्केत गरेका हुन् ।
हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरूबीच आधा घन्टा कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट सङ्गीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको जानकारी दिए ।
पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालको असन्तुष्टि छ ।
हमालले एमसीसीदेखि एसपिपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेको बताइएको छ । हमालले आफू राजनीतिमा आउन सक्ने सङ्केत समेत गरेका छन् । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताएका छन् ।
यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने प्रचण्डले आग्रह नगरेको बताइएको छ । हमालले पनि त्यस्तो चाहना व्यक्त नगरेको बुझिएको छ ।
