भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।
बहुमत परीक्षणका लागि सर्वोच्च अदालतबाट आदेश आएसँगै उनले राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदा आफूलाई कुनै दुख नलागेको बताएका छन् ।
सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’
ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए । आज महाराष्ट्रको विधानसभा बैठक बस्दैछ ।
महाराष्ट्रका राज्यपाल कोसियारीले बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरेका हुन् ।
ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।
शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उनले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोजे ।
यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।
