
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ)को बाँडफाँड आज हुने भएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीको आइपिओमा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट एक अर्ब ७९ करोड ३३ लाख सात हजार रुपैयाँ बराबरको एक करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अङ्कित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
माग भन्दा बढी आवेदन परेकोले कम्पनीको सेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम दश कित्ताको दरले सेयर वितरण हुनेछ । जसमध्ये दुई लाख एक हजार नौ सय ८६ जनाले मात्रै दश कित्ता शेयर पाउनेछन् । बाँकी १४ लाख बढी आवेदकको हात खाली हुनेछ ।