विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हालेका छन् । सोमबार उनले पदभार सम्हालेका हुन् । पदभार सम्हाले लगत्तै उनले करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समिति बनाउने निर्णय गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ । चुनावमा गरेको बाचा अनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गरेको महानगरपालिका प्रमुख कोइरालाले बताए । मेयरको कार्यभार सम्हालेका कोइरालाले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिवद्धता जनाए ।
स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् ।
आगामी नगरसभामा समितिले सुझाव पेश गुर्नपर्ने भएकाले तत्काल काम सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले बताए ।