Nepali Unicode | Preeti to Unicode

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिलाविरुद्ध घृणाको अभिव्यक्ति दिने एमालेका उम्मेदवार केशव स्थापितले काठमाडौंका महिलाको अपमान गरेको बताएका छन् । स्थापितबाट काठमाडौंमा बिहीबार आयोजित क्रियाशील कार्यकर्ता भेला कार्यक्रममा एमालेले सूर्यलाई मतदान गर्ने र सँगै उपमेयरको उम्मेदवार बनेकी महिलाको अपमान भइरहेको थापाको भनाइ थियो ।

थापाले महिलाविरोधी अभिव्यक्ति मेयरको उम्मेदवारबाट आउँदा महिलाको अपमान भएको बताए । उनले सूर्यमा मतदान गर्ने महिलाको पनि अपमान भएको उनको भनाइ थियो । ‘महिलाद्वेषी, हेट, महिलालाई काम नलाग्ने भनिसकेपछि यो कुनै एक जना महिलाको होइन; यो काठमाडौंका सबै महिलाको अपमान हो । स्वयं उहाँसँग हिँडिरहेको उपमेयर महिलाको अपमान हो,’ उनले भने ।

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल गरेका छन् । स्थापितमाथि विगतमा मेयर हुँदा महिलामाथि यौनहिंसा गरेको आरोप लागेको थियो । एक महिला कर्मचारीले स्थापितले यौन हिंसा गरेको भन्दै ‘मीटू’ अभियानअन्तर्गत सार्वजनिक गरेकी थिइन् ।

थापाले कांग्रेस कार्यकर्ताहरूलाई आवेगमा आएर विवेक नगुमाउन आग्रह गरेका छन् । आवेगमा आएर गलत निर्णय लिए पाँच वर्ष काठमाडौं महानगरपालिकाको नेतृत्व गर्नबाट चुक्ने कुरा बुझिराख्न भने ।

त्यस्तै, थापाले गठबन्धनको आलोचना गर्ने प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनहुँमा कांग्रेसबाट छुट्टिएका व्यक्तिसँग गठबन्धन गरेको र वडासम्म भेटेजतिसँग गठबन्धन गरेको बताए । ‘पाँच दलीय गठबन्धन भन्दै धारेहात लगाएर गाली गर्ने केपी ओली तनहुँमा कांग्रेसबाट छुट्टिएकासँग गठबन्धन गर्नुभएको छ । एउटा वडामा हिन्दू धर्मको वकालत गर्ने कमल थापा र अर्को वडामा क्रिस्चियन धर्मको वकालत गर्ने परिवार दलसँग गठबन्धन गर्नुभएको छ । प्रत्येक वडामा जसलाई जहाँ भेट्यो त्यहाँ गठबन्धन गरेको छ,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर